काठमाडौँ । फागुन २१ को निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि एमाले नेताहरू एकअर्काविरूद्ध आक्रोश र आलोचना गर्न थालेका छन् ।
आलोचना र आरोप प्रत्यारोपमा अध्यक्ष ओली निकट नेता कार्यकर्ताहरू नेतृत्वको बचाउमा सहभागी छन् भने इतर पक्षका नेताहरू अध्यक्ष ओलीसहितको वर्तमान नेतृत्वले पराजयको नैतिक जिम्मा लिनुपर्ने बताइरहेका छन् ।
यसै क्रममा उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका नेताहरू नै आफूविरूद्ध घृणायुक्त अभिव्यक्ति दिनुका साथै मिथ्या सूचना फैलाउने काममा लागेको सार्वजनिक रूपमै गुनासो गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव भट्टराईले अध्यक्ष पितृशोकमा रहेकाले एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने जनाएका छन् ।



































