काठमाडौं— चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक मुद्दामा उच्चस्तरीय संवाद अघि बढाउने प्रयासस्वरूप चीनका उपप्रधानमन्त्री हे लिफेङ शनिबार फ्रान्सतर्फ प्रस्थान गर्ने भएका छन् ।

पेरिसमा हुने वार्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने सम्भावित शिखर भेटवार्ताअघि महत्त्वपूर्ण तयारीका रूपमा हेरिएको छ । बेइजिङका अनुसार हे लिफेङले मार्च १४ देखि १७ सम्म फ्रान्समा अमेरिकी प्रतिनिधिमण्डलसँग आर्थिक तथा व्यापारिक परामर्शका लागि चिनियाँ टोलीको नेतृत्व गर्नेछन् ।

चीनको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले शुक्रबार जारी गरेको विज्ञप्तिमा चीन र अमेरिकाबीच भएको सहमतिअनुसार उक्त वार्ता आयोजना हुन लागेको उल्लेख गरिएको छ ।

प्रवक्ताका अनुसार वार्तामा दुवै देशका अधिकारीहरूले आपसी चासोका आर्थिक र व्यापारिक विषयमा छलफल गर्नेछन् । तर बैठकको विस्तृत कार्यसूची वा वार्ताको ठोस विषयवस्तुबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

यसअघि वासिङ्टनले पनि पेरिसमा हुने उक्त वार्ताको पुष्टि गरेको थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तयारी गरेका छन् भने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर पनि टोलीमा सहभागी रहने बताइएको छ ।

ग्रियरले बिहीबार जारी गरेको वक्तव्यमा चीन र अमेरिकाबीचको ‘आर्थिक संवाद’ अघि बढिरहेको बताएका थिए । पेरिसमा हुने यो भेटवार्तालाई यस महिनाको अन्त्यतिर अमेरिकी राष्ट्रपति ट्रम्पको सम्भावित चीन भ्रमणको पूर्वतयारीका रूपमा पनि हेरिएको छ ।

वासिङ्टनका अनुसार ट्रम्पले मार्च ३१ देखि अप्रिल २ सम्म चीन भ्रमण गर्ने अपेक्षा गरिएको छ, यद्यपि बेइजिङले आफ्नो नियमित कूटनीतिक अभ्यासअनुसार ती मितिहरू औपचारिक रूपमा पुष्टि गरेको छैन ।

सन् २०२५ को जनवरीमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि चीन र अमेरिकाबीचको सम्बन्धमा पुनः तनाव बढ्दै गएको छ । व्यापार, औद्योगिक क्षमता र बजार पहुँचका विषयमा दुवै देशबीच मतभेद देखिँदै आएका छन् ।

यसै सन्दर्भमा अमेरिकी व्यापार प्रतिनिधि ग्रियरले बुधबार चीनसहित प्रमुख व्यापार साझेदारहरूलाई लक्षित गर्दै अतिरिक्त औद्योगिक क्षमतासम्बन्धी नयाँ व्यापार अनुसन्धान सुरु गर्ने घोषणा गर्नुभएको थियो । चीनको वाणिज्य मन्त्रालयले भने अमेरिकी कदमको कडा आलोचना गरेको छ ।