काठमाडौं— राहदानी विभागले नयाँ प्रणाली जडान गर्ने तयारीका कारण केही समयका लागि राहदानी सेवा प्रभावित हुनसक्ने जनाएको छ। पुरानो प्रणाली हटाएर नयाँ प्रणाली लागू गर्ने क्रममा सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने विभागले सूचनामार्फत जानकारी दिएको हो।

सूचना अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा करिब एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ। त्यस्तै, राहदानी विभागबाट प्रत्यक्ष रूपमा दिइने सेवा भने करिब एक हप्तासम्म प्रभावित हुन सक्ने बताइएको छ।

विभागका अनुसार नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब एकदेखि तीन महिनासम्म समय लाग्न सक्छ। यस अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिँदा राहदानी तयार भएर जारी हुन अहिलेको तुलनामा बढी समय लाग्न सक्नेछ।

त्यसैले आगामी छ महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायमा गई सेवा लिन विभागले आग्रह गरेको छ।