काठमाडौं—  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्ने चितवन भरतपुर महानगरपालिका–१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने सिन्धुली कमलामाई नगरपालिका–७ घर भएकी २९ वर्षीया सविना

खड्का र काठमाडौं टोखा नगरपालिका–११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका–९ घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् ।  

पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अम्बरले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई काठमाडौं महानगरपालिका–१५ बाट र सविनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका–१२ बाट बिहीबार पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।