रुपन्देही— रुपन्देहीमा प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं मूल्यका सामान बरामद गरेको छ। विभिन्न स्थानमा गरिएको जाँचका क्रममा ६ लाख २९ हजार २०० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट करिब १ लाख २४ हजार रुपैयाँ बराबरको २० क्विन्टल काँचो केरा बरामद गरिएको छ। त्यसैगरी शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैयाँ मूल्यका १८० जोर लेडिज चप्पल प्रहरीले नियन्त्रणमा लिएको छ।
मायादेवी गाउँपालिका–६ खल्बटबाट ७२ हजार ५०० रुपैयाँ बराबरका १४१ थान एल्बो सकेट, ८.५ लिटर मोबिल, एक बोरा कुरकुरे र एक बोरा सर्फ बरामद गरिएको छ।
देवदह नगरपालिका–४ केरवानीबाट दुईवटा मोटरसाइकलमा ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा पनि प्रहरीले बरामद गरेको छ। उक्त कुखुराको अनुमानित मूल्य १ लाख २२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यसैगरी रोहिणी गाउँपालिका–३ लखनौटियाबाट २२ हजार १०० रुपैयाँ बराबरका तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री फेला परेको छ। कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकलमा ल्याइँदै गरेको पाँच कार्टुन बिस्कुट, एक बोरा चिनी र दुई बोरा मैदा बरामद गरिएको छ, जसको मूल्य करिब १ लाख ११ हजार ६०० रुपैयाँ रहेको छ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट १ लाख ५० हजार रुपैयाँ बराबरका ३०० थान बेबी सेट, ४०० थान बेबी भेस्ट र पाँच थान फलामको चेन बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका सबै सामग्री सम्बन्धित निकायमा पठाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।






































