काठमाडौं— इरानको सर्वोच्च धार्मिक तथा राजनीतिक पदमा सय्द मोज्तबा खामेनेई नियुक्त भएपछि देशभर उत्सव मनाइएको छ । सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका दोस्रो छोरा मोज्तबा खामेनेईलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको हो ।
सोमबार उनको नाम घोषणा भएपछि तेहरानसहित विभिन्न शहरमा सयौँ नागरिक सडकमा उत्रिएका थिए । उनीहरूले नयाँ नेतृत्वप्रति समर्थन जनाउँदै उत्सव मनाएका छन् । इरानको एक्सपट्र्स असेंब्ली एसेम्बली अफ एक्सपर्टले संविधानको धारा १०८ अनुसार मोज्तबा खामेनेईलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेताका रूपमा नियुक्त गरेको बताइएको छ ।
नयाँ सर्वोच्च नेताको चयनपछि इरानका विभिन्न राजनीतिक तथा सुरक्षा निकायहरूले समर्थन जनाएका छन् । इरानको रिभोल्युसनरी गार्ड कोर आइआरजीसी र सशस्त्र बलको जनरल स्टाफले पनि मोज्तबा खामेनेईको नेतृत्वमा पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले देशलाई नयाँ नेतृत्वको पछाडि एकताबद्ध हुन आह्वान गरेका छन् । उनले मोज्तबा खामेनेईको नेतृत्वमा इरानले विकास र स्थायित्वतर्फ अघि बढ्ने अपेक्षा व्यक्त गरे । इरानी संसदका सभामुखले पनि उनको चयनलाई “देशका लागि शान्तिदायक निर्णय” भएको बताएका छन् ।
नयाँ नेता नियुक्त भएको केही समयमै इरानले इजरायलतर्फ दुई चरणमा मिसाइल प्रहार गरेको प्रेस टिभीले जनाएको छ । जेरुसेलम पोस्टका अनुसार ती मिसाइलका टुक्रा मध्य इजरायलमा खस्दा कम्तीमा एक जना घाइते भएका छन् ।
पश्चिम एसियामा बढ्दो तनावका बीच यी घटनाक्रम भएका हुन् । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य आक्रमण गर्दा तत्कालीन सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसहित केही वरिष्ठ अधिकारी मारिएका थिए । त्यसपछि इरानले कडा प्रतिकार गर्दै विभिन्न अरब देशतर्फ ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।
युद्ध सुरु भएको नौ दिन पुग्दा मानवीय क्षति पनि तीव्र रूपमा बढिरहेको छ । अल जजिराका अनुसार हालसम्म १ हजार ३ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने करिब एक लाख मानिस विस्थापित भएका छन् । सुरक्षा संकटका कारण धेरै नागरिक घर छाडेर सुरक्षित स्थानतर्फ पलायन भइरहेका छन् ।
संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले प्रभावित क्षेत्रमा राहत र सहयोगको माग तीव्र रूपमा बढेको जनाएको छ । लगातार बढ्दो द्वन्द्वका कारण क्षेत्रीय सुरक्षा र मानवीय संकट अझ गम्भीर बन्ने चिन्ता व्यक्त गरिएको छ ।






































