अमरगढी। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय गर्नुभएको हो ।
(रास्वपा) का उम्मेदवार डा जोशी सात हजार १० मतान्तरले विजयी हुनुभएको छ । उहाँले १९ हजार १३१ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गर्नुभएको छ । नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र नेकपा (एमाले)का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गर्नुभएको छ ।
डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका डा जोशीको जन्म २०२७ साल चैत ३० गते भएको हो । उहाँ गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुनुहुन्छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उहाँ लामो समय विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडिँदै आउनुभएको छ । डा जोशीको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा सुरु भएको थियो ।
विसं २०४८ मा शिक्षण पेसामा आबद्ध हुँदै शिक्षक सङ्गठनमा आबद्ध हुनुभएका डा जोशी २०५१ सालमा नेकपा (एमाले) डडेल्धुरा–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेर पार्टी राजनीतिमा सक्रिय हुनुभयो । उहाँले जिल्लाका विभिन्न विद्यालयहरूमा अध्ययापनसमेत गर्नुभयो । पार्टीभित्र डा जोशीले क्रमशः विभिन्न जिम्मेवारी सम्हाल्नुभयो । विसं २०५३ सालमा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य हुनुभएका डा जोशी २०५४ सालमा जिल्ला कमिटी सचिव बन्नुभयो ।
त्यस्तै, २०५५ सालतिर डा जोशी राजनीतिक जिम्मेवारीसँगै पत्रकारितामा पनि सक्रिय बन्नुभयो । त्यसक्रममा कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकको जिम्मेवारी सम्हाल्नुभयो । उहाँले कान्तिपुर, नेपाल साप्ताहिक तथा भारतको ‘हिन्दूस्तान टाइम्स’मा समेत स्तम्भ लेख्दै समसामयिक राजनीतिक तथा नीतिगत विषयमा विचार प्रस्तुत गर्नुभयो ।
सङ्गठनमा लामो समय काम गर्नुभएका डा जोशी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत हुनुभयो । राजनीतिक गतिविधिसँगै उहाँले लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभयो । विशेषगरी २०६२÷६३ को जनआन्दोलनमा डा जोशीको सक्रिय सहभागिता रहेको थियो । सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा समेत सक्रिय रहनुभएका उहाँ सामाजिक मुद्दामा आवाज उठाउने नेताका रूपमा चिनिनुहुन्छ ।
निर्वाचन राजनीतिमा भने डा जोशीले उतारचढाव भोग्नुभयो । विसं २०७० को संविधानसभा निर्वाचनमा उहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित हुनुभएको थियो भने २०७४ सालको प्रदेशसभा निर्वाचनमा उहाँले कर्णबहादुर मल्लसँग हार व्यहोर्नुभयो । तर, २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि डा जोशीले पुनः राजनीतिक रूपमा बलियो उपस्थिति देखाउनुभयो । विसं २०७८ मा एमाले परित्याग गरेका जोशी त्यसपछि स्वतन्त्र राजनीतिक यात्रामा सक्रिय हुनुभएको थियो ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि डा जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा होमिनुभएको थियो । शैक्षिक रूपमा पनि डा जोशी उच्च अध्ययन गरेका नेता हुनुहुन्छ । नेपालमै राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गर्नुभएका उहाँले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पिएचडी) हासिल गर्नुभएको छ । अन्तरराष्ट्रिय सम्बन्ध, विकास नीति, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा उहाँको अनुभव छ ।






































