झापा— झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा सार्वजनिक हुन थालेको छ । हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरु भएको निर्वाचन आयोगले बताएका छन् ।
सुरुवाती परिणामअनुसार दुई क्षेत्रमा रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् ।
झापा क्षेत्र नं. ५ मा रास्वपाका बालेनले उल्लेखनीय अग्रता बनाएका छन् । २३०३ मत गणना हुँदा उनले १४७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४२, नेकपाका रञ्जित तामाङले ६१ र श्रम संस्कृति पार्टीका शिवन मगरले १४९ मत प्राप्त गरेका छन्।
झापा–५ मा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेकोमा १ लाख ६ हजार ३७२ मत खसेको थियो ।
त्यस्तै, झापा क्षेत्र नं. २ मा पनि रास्वपाकी उम्मेदवार इन्दिरा राणा मगरले सुरुवाती अग्रता लिएकी छन् । २४१२ मत गणना हुँदा निवर्तमान उपसभामुखसमेत रहेकी उनले १५९९ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवराज घिमिरेले २७५ मत ल्याएका छन् ।






































