काठमाडौं— सुदूरपश्चिममा प्रतिनिधि सभाको निर्वाचन सुरु भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशका २ हजार १ सय ९९ वटै मतदान केन्द्रमा निर्वाचन सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मि पुगिसकेका छन् ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार तोकेको समयमै सबै क्षेत्रमा निर्वाचन सुरु भएको विवरण प्राप्त भएको छ ।

सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र दार्चुलाका केही मतदान स्थलमा ईन्टरनेट र फोन सेवा उपलब्ध नरहेको अवस्थामा सुरक्षा निकायको सञ्चार सेटबाट सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता एसएसपि पदम् विष्टले पनि हाल सम्म कुनै पनि क्षेत्रमा अवरोध भएको विवरण प्राप्त नभएको बताउनु भयो । सुदूरपश्चिमका धेरै स्थानमा प्रहरी सञ्चारको पहुच रहेपनि केही स्थनमा भने सञ्चार सेटको समेत उपलब्धता नरहेको उनले बताए ।

बाजुराका दुई स्थानमा भने टेलिफोन सेवा समेत उपलब्ध नभएकाले भी सेटको व्यवस्था गरिएको एसएसपि विष्टले बताए । उनका अनुसार सुदूरपश्चिमका ९ जिल्लामा १५ वटा निर्वाचन क्षेत्र रहेका छन् । कैलालीमा– ५, कञ्चनपुरमा–३, अछाममा २ निर्वाचन क्षेत्र रहेका छन् । त्यसबाहेक डडेल्धुरा, बैतड, दार्चुला, डोटी, बाजुरा र बझाङमा १/१ वटा निर्वाचन क्षेत्र रहेका छन् । सुदूरपश्चिममा कुल मतदाताको संख्या १७ लाख, १६ हजार ६ सय ६० रहेको छ ।