काठमाडौं— आज देशैभर प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । गत भदौमा संसद विघटन भएपछि हुन लागेको यो ऐतिहासिक मध्यावधि निर्वाचनमा आम नागरिकको सहभागिता उत्साहजनक देखिएको छ ।

बिहानैदेखि मतदान केन्द्रमा मतदाताहरु लाइन बसेका छन् । राजधानी काठमाडौंसहित देशभरका १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्रहरूमा बिहान ७ बजे नै मतदान प्रक्रिया सुरु भएको हो । बिहानैदेखि मतदाताहरू विशेष गरी युवा र जेष्ठ नागरिकहरू, नजिकैको मतदान केन्द्रमा लामबद्ध भएका छन् । निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था मिलाएको छ ।

करिब १ करोड ८९ लाख ३ हजार ६८९ जना कुल मतदाता रहेकोमा करिब ८ लाख नयाँ युवा मतदाता रहेका छन् ।

कुल १६५ सिटका लागि प्रत्यक्षतर्फ र ११० सिटका लागि समानुपातिकतर्फ गरी जम्मा २७५ सदस्यका लागि मतदान भइरहेको छ ।

प्रत्यक्षतर्फ ३ हजार ४०६ र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सुरक्षा र व्यवस्थापन निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन देशभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी पुगिसकेका छन् र हालसम्म कतैबाट पनि अप्रिय घटनाको जानकारी आएको छैन ।