काठमाडौं— सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गरिरहेको आरोपमा पूर्व सभामुख एवं धनुषा १ का उम्मेदवार रामचन्द्र मण्डलका ज्वाइँ रमेश मण्डल पक्राउ परेका छन्।
मौन अवधिमा सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरी निजी बनाइएको आरोपमा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम बहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार सशस्त्र प्रहरीको विशेष चेकजाँचका क्रममा मिथिला बिहारी नगरपालिका–पुरन्दाहा क्षेत्रबाट गाडी र चालक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल मधेस प्रदेशका डीआइजी कृष्ण ढकालले पनि एक चारचक्के स्कारपियो गाडी र चालक नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।
स्रोतका अनुसार पूर्व सभामुखको हैसियतमा मण्डलले पाएको प्रदेश सभाको सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गरिएको थियो।
बागमती–प्र–०१ ००३२ च ७८९४ नम्बरको गाडी नक्कली नम्बर लेखि प्रयोग गरिँदै आएको छ। मतदाता प्रभावित पार्ने उद्देश्यले गाडी प्रयोग गरिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
गाडी र चालकलाई नियन्त्रणमा लिई पूर्व सभामुखका ज्वाइँ मण्डललाई छाडिएको एसपी कुँवरले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।





































