काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनलाई प्रभावित पार्नेगरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा युट्युबर रतन कार्की पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई बुधबार दिउँसो चितवनबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरिक्षक अबि नारायण काफ्लेले जानकारी दिए ।
सोमबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा कार्कीले राजनीतिज्ञसँगको अन्तर्वार्ता युट्युब तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले उनले मौन अवधि तोडेको प्रहरीको प्रारम्भिक बुझाइ छ ।
कार्कीमाथि थप अनुसन्धान भइरहेको र यसबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





































