जनकपुरधाम— पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सम्बद्ध चौधरीलाई पर्सागढी नगरपालिका बढनिहारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार बा १० च १२५० नम्बरको गाडीमा सवार रहेका चौधरीको गाडीमा शंकास्पद वस्तु फेला परेपछि जाँच गर्दा ‘होक्सी बम’ भेटिएको थियो । पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले फेला परेको बम नेपाली सेनाको टोलीमार्फत डिस्पोज गरिसकिएको बताए ।
चौधरीसँगै बारा प्रसौनी गाउँपालिकाका २६ वर्षीय सहाव आलम अन्सारी, धनुषाका ३० वर्षीय सुरज कार्की र पर्साका ६८ वर्षीय सत्यनारायण थारु पनि पक्राउ परेका छन् ।
पक्राउ परेकामाथि विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चौधरीमाथि निर्वाचन ऐन २०७३ र मुलुकी फौजदारी संहिताअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । साथै, उनी सवार गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।






































