सुनसरी— सुनसरीमा सामाजिक सञ्जालमार्फत निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले झुटा सामग्री प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति इनरुवा नगरपालिका–३, महेन्द्रचोक निवासी २७ वर्षीय रामचन्द्र ठाकुर हुन्। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनले आफ्नो फेसबुक आईडी प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचनसँग सम्बन्धित भ्रामक भिडियो अपलोड तथा सेयर गरेका थिए।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरो, काठमाडौंको प्राविधिक सहयोगमा प्रहरीले उनलाई इनरुवास्थित उनकै निवास क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। घटनामा प्रयोग गरिएको मोबाइल फोनसमेत बरामद गरिएको छ।

ठाकुरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिए।