वीरेन्द्रनगर— सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मा निर्माणाधीन घरको कम्पाउन्डभित्र रहेको पानी जम्मा गर्ने खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा टेकबहादुर कटुवालका ७ वर्षीय खेमराज कटुवाल र ५ वर्षीया दिपिका कटुवाल रहेका छन्। 

प्रहरीका अनुसार सोमबार साँझ बालबालिका घर नजिकै निर्माण भइरहेको नयाँ घरको कम्पाउन्डमा खेल्न गएका थिए। खेल्ने क्रममा पानी भण्डारणका लागि खनिएको खाडलमा उनीहरू पसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

स्थानीयवासीले दुवै जना खाडलमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि अचेत अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पताल, कालागाउँ लगिएको थियो।

चिकित्सकले जाँचपछि दुवैलाई मृत घोषणा गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।