सुर्खेत । निर्वाचन सुरक्षा अवस्था बुझ्न कर्णाली प्रदेशका प्रमुख सचिवसहित सुरक्षा निकायका उच्च अधिकारीहरुको टेली डोल्पा पुगेको छ ।
नेपाली सेनाको स्काई ट्रकमार्फत जिल्ला पुगेको उक्त टोलीमा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादव, नेपाली सेनाका उत्तर पश्चिम पृतनापती दिपेशजंग शाह, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, सशस्त्र प्रहरी बलका प्रदेश निमित्त बाहिनीपति विनोदराज श्रेष्ठसहितको टोली डोल्पा पुगेको हो ।
उक्त टोलीले जिल्लामा निर्वाचनको तयारी, मतदान केन्द्रको सुरक्षा अवस्था तथा मतदाताको सहभागिताबारे जानकारी लिएको छ ।
जिल्लामा भईरहेको निर्वाचन तयारीबारे प्रमुख जिल्ला अधिकारी जुनु हमालले टोलीलाई जानकारी गराएकी छन्।
डोल्पाका विकट मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री र कर्मचारी पठाएईकोबारे प्रजिअ हमालले जानकारी गराईन् ।
उनले डोल्पाको माथिल्लो भेगबाट मतपेटिका र कर्मचारी फर्काउन समेत समस्या हुने भएकाले हेलिकप्टर प्रयोगका लागि सहजिकरण गरिदिन आग्रह समेत गरेकी छन् ।
हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्रमा २० कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी ८० जना गरी एक सय दुई जना कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टरबाटै पठाइएको उनले टोलीलाई जानकारी दिइन् ।
डोल्पाको छार्काताङसोङ गाउँपालिकाको ढाँडगाउँ, लुङ्गाबगर, छार्का, घेराङ्ग, कागकोट, मुकोट, पुङ्गाबगर, डोल्पोबुद्ध गाउँपालिकाको धो, कलाङ, ताक्सी, तिन्जे, पोल्दै, सिमेन र शेफोक्सुन्डो गाउँपालिकाको भिजेर, सालदाङ, कोमास, निसाल, कराङ, धुङदार, फोतगाउँ कुगाउँ, साइजल, रिग्मो, पुग्मोका रहेका मतदान स्थलमा हेलिकप्टर प्रयोग गर्नु परेको उनले जानकारी गराइन् ।






































