काठमाडौं— प्रहरीले प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीन जनालाई पक्राउ गरेको छ ।

इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका-१ बस्ने ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका-१० बस्ने ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साप्लासिसो गाउँपालिका-१ बस्ने ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन् ।

उनीहरूलाई सुनसरीको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले बुढाथोकी र बोहोरालाई शनिबार र मिश्रलाई गत बुधबार पक्राउ गरेको जनाएको छ ।

निर्वाचनको वातावरण बिथोल्ने सर्वसाधारणलाई मतदान स्थल नजान धम्काउने जस्ता शंस्कास्पद गतिविधिमा संलग्न भएको पाइएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।