दाङ— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दाङ क्षेत्र नम्बर २ मा चार प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
यस क्षेत्रमा शंकर पोखरेल (नेकपा एमाले), किरणकिशोर घिमिरे (नेपाली कांग्रेस), विपिनकुमार आचार्य (राष्ट्रिय स्वतन्त्र पार्टी) र निर्मल आचार्य (नेपाली कम्युनिस्ट पार्टी) बीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। ठूला दलका प्रभावशाली उम्मेदवार मैदानमा उत्रिएकाले दाङ–२ को चुनावी माहोल रोचक बनेको छ ।
२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रेखा शर्मा ले गठबन्धनको समर्थनमा २६ हजार ८८० मत ल्याउँदै १९३ मतान्तरले पोखरेललाई पराजित गरेकी थिइन्, जबकि पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका थिए ।
त्यतिबेला रास्वपाका बिशाल अधिकारी ले १५ हजार ८६१ मत ल्याएका थिए । समानुपातिकतर्फ भने एमाले २३ हजार ५६८ मतसहित पहिलो दल बनेको थियो, जसले अहिलेको प्रतिस्पर्धामा एमालेको आधार बलियो रहेको संकेत गर्छ ।
यसपटक कुनै औपचारिक गठबन्धन नभएको, साथै स्थानीय तहमा कार्यकर्ता विस्तार र युवाको प्रवेश बढेको भन्दै एमाले पक्षले पोखरेलको पक्षमा माहोल बन्न थालेको एमाले कार्यकर्ताहरुको दाबी छ ।
घरदैलो अभियानका क्रममा उनले मोटरबाटो, खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै मतदाता आकर्षित गर्ने प्रयास गरेका छन् । विगतका अधुरा विकास आयोजना पूरा गर्न सक्ने उम्मेदवारको रूपमा उनलाई प्रस्तुत गरिँदा दाङ–२ को चुनावी प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ ।






































