काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा।प्रकाश शरण महतले देश संकटको अवस्थामा रहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा, विधिको शासन सुनिश्चितता र स्थिरताका लागि नेपाली कांग्रेस सत्ताको नेतृत्वमा पुग्न आवश्यक रहेको बताएका छन् ।

नुवाकोटमा कांग्रेसको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले नुवाकोट जिल्ला नेपाली कांग्रेसको गढ भएकाले विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले वर्तमान राष्ट्रिय राजनीति अत्यन्त तरल अवस्थामा रहेको भन्दै देश अझ कमजोर हुने खतरा विद्यमान रहेको बताए ।

‘नुवाकोट जिल्ला नेपाली कांग्रेसको गण भएकोले विजय सुनिश्चित हुने मलाई थप विश्वास बढेको छ । यो परिस्थितिबाट देशलाई जोगाउन जरुरी छ, लोकतन्त्रलाई मजबुत पार्न जरुरी छ, विधिको शासन सुनिश्चित गर्न जरुरी छ । विनाश होइन, निर्माण गर्न जरुरी छ,’ उनले भने, ‘भत्काउन सजिलो हुन्छ, तर बनाउन समय, स्रोत–साधन, भिजन र मिसन चाहिन्छ। हामी बनाउने योद्धा हौं, विनाश गर्ने होइन ।’

नेता महतले विशेष परिवेशमा ८४ को सट्टा ८२ मा निर्वाचन हुन लागेकाले यस चुनावको महत्व अझ बढेको उल्लेख गरे । उनले स्थिरता र लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेसजस्तो परिपक्व पार्टी सत्ताको नेतृत्वमा पुग्नुपर्ने धारणा राखे । संसदमा अत्याधिक संख्याका साथ कांग्रेस उपस्थित भए मात्र देशले स्थायित्व प्राप्त गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘आजको विशिष्ट परिवेशमा जुन ८४ को सट्टा ८२ मा निर्वाचन हुँदैछ त्यसैले यसको महत्व छ । यसमा नेपाली कांग्रेस जस्तो परिपक्व पार्टी सत्ताको नेतृत्वमा पुग्न जरुरी छ । संसदमा अत्याधिक संख्याको साथ संसदमा पुग्न जरुरी छ त्यो भयो भने मात्र देशले स्थिरता प्राप्त गर्छ र लोकतन्त्र संस्थागत हुन्छ ।’

उनले नयाँ राजनीतिक दलहरूतर्फ संकेत गर्दै ती दलहरूको उदय र विसर्जनबारे नै स्पष्टता नभएको टिप्पणी गरे । ‘नयाँ पार्टी कहाँबाट सुरु हुन्छ, कहाँबाट अन्त्य हुन्छ, कहाँबाट पैदा हुन्छ र कहाँबाट विसर्जन हुन्छ भन्ने नै थाहा छैन । मिसन र भिजनको अत्तोपत्तो छैन । यस्तो अवस्थामा नयाँ पार्टी विकल्प हुन सक्दैन,’ उनले भने ।