राजविराज । सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका गजेन्द्र मण्डलले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।
मण्डलले कांग्रेसका उम्मेदवार दिनेशकुमार यादवलाई समर्थन गर्ने घोषणा गरेका हुन् । मण्डलले यादवलाई समर्थन गर्दै उनैका लागि मत माग्ने सहमति दुई पार्टीबीच भएको छ । शनिबार नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गरी यो सहमतिको विषयमा जानकारी गराइएको छ ।
सहमति पत्रमा नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल र राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीले हस्ताक्षर गरेका छन् ।
योसँगै सप्तरी ३ मा कांग्रेसका उम्मेदवार यादव बलियो बन्दै गएका छन् । शुक्रबारमात्र रुपनी गाउँपालिकाका पूर्व वडाध्यक्षसहित जसपा नेपालका दर्जनौँ युवा कांग्रेसमा प्रवेश गरेका थिए ।






































