काठमाडौं –  गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराइने बताएका छन्। 

दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षणका क्रममा उनले विगतका कमजोरी सच्याएर यसपटक धाँधलिरहित निर्वाचन गराइने प्रतिबद्धता जनाए। उनले सम्बद्ध अधिकारीलाई शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न निर्देशन दिए तथा सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गरे।

निरीक्षणमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए। टोलीले निर्वाचन सुरक्षा तयारीबारे छलफल गर्दै संवेदनशील क्षेत्र र नाकामा कडाइ गरिएको जानकारी दिएको छ।

बैतेश्वर गाउँपालिकामा आठ मतदानस्थल र २१ मतदान केन्द्र रहेका छन् भने १८ हजार ४२२ मतदाता कायम छन्।