काठमाडौं – विश्वभरका ८०० भन्दा बढी ह्याकर तथा क्लाउड सेक्युरिटी इन्जिनियर सहभागी रहेको ‘विज क्लाउड सेक्युरिटी च्याम्पियनशिप’मा दुई नेपाली युवाले उल्लेखनीय सफलता हासिल गरेका छन्। जारी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका अनुभव रत्न ढकाल दोस्रो तथा रञ्जन मरासिनी तेस्रो स्थानमा उक्लिएका हुन्।

इजरायल र अमेरिकामा मुख्यालय रहेको ‘विज’ कम्पनीद्वारा आयोजना गरिएको यो एक वर्षे प्रतियोगितामा एडब्लूएस, जीसीपी र कुबेरनेटिक्सजस्ता क्लाउड प्लेटफर्ममा देखिने वास्तविक सुरक्षा कमजोरी पहिचान गरी समाधान गर्नुपर्ने हुन्छ। प्रत्येक महिना ‘क्याप्चर द फ्ल्याग (CTF)’ स्वरूप नयाँ चुनौती प्रस्तुत गरिन्छ।

हाल प्रतियोगिता नवौँ महिनामा प्रवेश गरिसकेको छ। हालै सम्पन्न २० अङ्कको ‘ट्रस्ट इस्यु च्यालेन्ज’ अन्तर्गत कम्पनीको डाटा कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने कार्य दिइएको थियो। लगातार नौ महिनासम्मको प्रतिस्पर्धापछि नेपाली अनुसन्धानकर्ता शीर्ष तीनभित्र स्थान बनाउन सफल भएका हुन्।

२३ वर्षीय अनुभव रत्न ढकालले काठमाडौंको इस्लिङ्टन कलेजबाट साइबर सेक्युरिटीमा स्नातक गरेका छन्। २४ वर्षीय रञ्जन मरासिनी चितवनस्थित फोर्ब्स कलेजमा सोही विषयमा अध्ययनरत छन्। हाल शीर्ष २२ स्थानमा रहेका सबै प्रतिस्पर्धीको समान १७० अङ्क रहेको छ, जसमा ढकाल र मरासिनी पनि समावेश छन्।

यसै प्रतिस्पर्धामा अन्य नेपाली सहभागीहरूले पनि राम्रो प्रदर्शन गरेका छन्। ‘bot_Bhograte’ ४७ औँ, ‘3vei7@r’ ५२ औँ, ‘xO’ ६३ औँ र विदिशा सुवेदी (bidisha) ७६ औँ स्थानमा रहेका छन्।

क्लाउड सेक्युरिटी क्षेत्रमा गहिरो प्राविधिक ज्ञान आवश्यक पर्ने भएकाले प्रतियोगिता निकै चुनौतीपूर्ण मानिन्छ। विजेताले ‘डब्लूडब्लूई’ शैलीको च्याम्पियनशिप बेल्टसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई कम्पनीमा रोजगारीको अवसरसमेत प्रदान गरिनेछ।

यसै प्रतियोगितामा देखाएको उत्कृष्ट क्षमताका आधारमा अनुभव रत्न ढकाल ‘विज’ कम्पनीसँग आबद्ध भई नेपालबाटै ‘रिमोट’ रूपमा कार्य गर्ने अवसर पाइसकेका छन्।

जुन २०२५ देखि सुरु भएको प्रतियोगिता मे २०२६ सम्म सञ्चालन हुनेछ। साइबर सुरक्षामा रुचि राख्ने इच्छुक व्यक्तिहरूले दर्ता गरी सहभागी हुन सक्नेछन्।