डडेल्धुरा— आसन्न निर्वाचनका लागि डडेल्धुरामा विभिन्न राजनीतिक दलका र तीनजना स्वतन्त्र गरी १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सबै दल आ–आफ्ना एजेन्डासहित जनताको घरदैलो र चुनावी अभियानमा छन् । अन्य दल तथा उम्मेदवारहरूले ठूला आमसभा नगरेको अवस्थामा नेपाली कांग्रेस भने लगातार आमसभा गर्दै आएको छ।
केही दिनअघि गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा आमसभा गरेको कांग्रेसले फागुन १६ गते शनिबार डडेल्धुराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिकाको जोगबुढामा अर्को आमसभा गर्ने भएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेपाली काँग्रेस डडेल्धुराले बृहत् चुनावी आमसभा आयोजना गर्ने भएको हो।
जिल्ला कार्यसमितिको आयोजनामा हुने आमसभा फागुन १६ गते परशुराम नगरपालिका–१२ जोगबुडास्थित परशुराम रंगमैदानमा हुनेछ।
जिल्ला कार्यसमितिले सार्वजनिक गरेको सूचनाअनुसार आमसभामा पार्टीका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ ।
त्यसैगरी महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशका सदस्यहरूलाई पनि कार्यक्रममा बोलाइएको छ ।
आमसभामा प्रदेश सभा क्षेत्रीय पदाधिकारी तथा सदस्यहरू, पालिका तहका पदाधिकारी तथा सदस्यहरू, सम्पूर्ण वडा तहका पदाधिकारी तथा सदस्यहरूको सहभागिता हुने पार्टीले जनाएको छ ।
पार्टी संगठनलाई एकीकृत रूपमा प्रस्तुत गर्ने उद्देश्यले भातृ संगठन तथा शुभेच्छुक संस्थाका जिल्ला, प्रदेश सभा क्षेत्र र पालिका तहका पदाधिकारी तथा सदस्यहरूलाई समेत आमन्त्रित गरिएको छ।
यसका अतिरिक्त क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य तथा नेपाली काँग्रेसप्रति आस्था राख्ने सम्पूर्णलाई आमसभामा सहभागी हुन आग्रह गरिएको छ।
कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँदले डडेल्धुराको भित्री मधेश क्षेत्र जोगबुडामा आयोजना हुने यस आमसभाले चुनावी अभियानलाई नयाँ गति दिने बताए।
नेपाली कांग्रेसले यही फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा डडेल्धुराबाट प्रतक्षतर्फ नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। समानुपातिक तर्फ हरिना देबी कामीलाई उम्मेदवार बनाएको छ।




































