काठमाडौं— यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित ‘समावेशी समाजवादी पार्टी’का तर्फबाट सुरेन्द्र पाण्डे ले काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

घरदैलोका क्रममा उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय राज्य र समाजबाट अझै पनि तिरस्कृत अवस्थामा रहेको भन्दै संसदमा उनीहरूको प्रत्यक्ष प्रतिनिधित्व आवश्यक भएको बताए ।

‘समाजवादी समावेशी पार्टी यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु देश र समाजबाट नै तिरस्कृत भइरहेको अवस्थामा हाम्रो प्रतिनिधित्व संसदमा हुनुपर्छ भनेर म यो क्षेत्रमा प्रत्येक्ष रुपमा उम्मेद्वारी दिएर घर दैलो गरिरहेको छु’ उनले भने ।

मुख्य राजनीतिक दलहरूले समावेशी रूपमा स्थान नदिएपछि आफ्नै राजनीतिक शक्ति निर्माण गर्दै उम्मेदवारी दिएको उनको भनाइ छ ।

पाण्डेले आफ्नो पार्टी पारदर्शिता, सुशासन र भ्रष्टाचारविरुद्ध स्पष्ट अडानमा रहेको दाबी गर्दै युवापलायन रोक्ने, ढल निकास व्यवस्थापनलगायत स्थानीय समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।