काठमाडौं— नवलपरासीको गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा सोमबार साँझ युवती मृतावस्थामा फेलापरेकी छन् ।
गुल्मी मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठाभित्र चोटपटकसहित मृतावस्थामा फेलापरेकी प्रहरीले जनाएको छ ।
युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो ।
स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेलापरेको प्रहरीले जनाएको छ ।
मृतक सापकोटाको करिब तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको बुझिएको छ । उनी हाल एक्लै बस्दै आएकी थिइन् । उनी गत १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा आएकी थिइन् ।
घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।






































