काठमाडौं—  निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा थप सुरक्षाकर्मी परिचालन गरेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा सुदूरपश्चिम प्रदेश प्रहरी धनगढीबाट सुदूरपश्चिम प्रदेशका नौओटै जिल्लामा थप प्रहरी परिचालन गरिएको छ ।  

प्रदेश प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा ६३२, कञ्चनपुरमा २२७, अछाममा ३३९, बाजुरामा ११८, डोटीमा २२३, बैतडीमा २४२, डडेलधुरामा १४०, दार्चुलामा ३३  र बझाङमा ३५८ थप प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । 

मंगलबार मात्रै बैतडी, डडेलधुरा र डोटीमा ३६० जनाको प्रहरी टोली खटाइएको प्रवक्ता विष्टले बताए । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता विष्टका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयहरूमा आवश्यकताअनुसार थप सुरक्षाकर्मी खटाउने क्रम जारी छ ।

सुदूरपश्चिम प्रदेशमा मतदानस्थल, मतगणना केन्द्र तथा संवेदनशील क्षेत्रहरूमा विशेष सुरक्षा योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।