काठमाडौं, फागुन ५ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज आह्वान गरेको नेपाल बन्द घोषणासंगै देशका विभिन्न ठाउँमा अज्ञात समूहले राखेको शंकास्पद वस्तु नेपाली सेनाले निश्क्रिय पारेको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रभावित पार्न अज्ञात समूहले देशका विभिन्न राजमार्गमा राखेको शंकास्पद वस्तु सेनाले निश्क्रिय पारेको हो।
यसैक्रममा भैरहवाको लुम्बिनी गेट नजिकै बोराभित्र राखिएको शंकास्पद वस्तु सेनाले निश्क्रिय पारेको छ । बोरामा बेरेर बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको वस्तु डिस्पोज गर्दा बोरा भित्र क्यान बियर, माटो र ढुङ्गा भेटिएको हो ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ स्थित चिसापानीमा भेटिएको शङ्कास्पद बस्तुलाई पनि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । धरान–चतरा सडकखण्डको बिच भागमा सेतो कपडाले बेरिएको शङ्कास्पद वस्तु फेलापरेपछि केही बेर उक्त सडकखण्डमा सवारी आवागमनमा समेत अवरोध पुगेको थियो । सेनाले उक्त शङ्कास्पद वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै, झापाको पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० कनकाई माईको पुलमा अज्ञात समूहले समाजलाई आतङ्कित पार्ने गरी कागजको डल्लोभित्र होसियार लेख्दा तीन घण्टा यातायात अवरुद्ध भएको छ ।
मङ्गलबार बिहान करिव ३ बजेको समयमा कनकाई माई पुलको बिच भागमा नेपाल बन्द होसियार लेखेको बम आकृतिमा राखिएको पाइएको थियो । बाटोमा राखिएको उक्त वस्तुलाई निर्वाचनको सुरक्षाका लागि हिँडेको गस्ती टोलीले देखेपछि बिहान ३ बजेदेखि ६ः३० बजेसम्म उक्त सडक अवरुद्ध गर्नुपरेको प्रहरीले जनाएको छ ।
उक्त शङ्कास्पद बस्ते अरिमदल गण चारआलीको सेनाको बम डिस्पोज टोली बोलाएर हेर्दा कागजभित्र पराल मात्रै हालेर बम जस्तै आकृति बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त वस्तु कसले र किन राखेको हो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै नेपाल बन्दको घोषणा गरेको छ । बन्द आह्वान का कारण शिक्षण संस्थाहरु बन्द भएपनि सवारी साधन र बजार भने खुलेका छन् ।






































