काठमाडौं— केपी शर्मा ओली आज पुनः आफ्नो निर्वाचन क्षेत्र झापा जाँदैछन्। ओली बिहान १०ः२० बजे काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी सीधै निर्वाचन क्षेत्रमा सक्रिय हुनेछन्। यसअघि माघ २३ गते झापा पुगेका ओलीले सात दिनमा करिब ८० गाउँको भ्रमण गरी मतदातासँग भेटघाट गरेका थिए।

आजको कार्यतालिकाअनुसार उनले शिक्षक, धिमाल समुदाय तथा मुस्लिम समुदायसँग छुट्टाछुट्टै भेला गर्नेछन्। साथै दमक–२ स्थित अस्थायी निवासमा भौगोलिक क्षेत्रका कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको छ। एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार यो भ्रमण मतदाता केन्द्रित हुनेछ।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालले ओली फागुन ६ गतेसम्म झापामै रहने जानकारी दिएका छन्। सो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ–टोलमा घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ। दैनिक कम्तीमा ६–७ स्थानमा पुग्ने गरी कार्यक्रम तालिका मिलाइएको बताइएको छ।

एमाले दमकका अध्यक्ष राम पौडेलका अनुसार सोमबार बिहान ११ बजे दमक–५ को यलम्बर चोकबाट कार्यक्रम सुरु हुनेछ। त्यसपछि ११ः५० मा दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र अपरान्ह ४ बजे दमक–३ कै आमचोकमा भेटघाट कार्यक्रम तय गरिएको छ। ती सबै स्थानमा स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने वातावरण मिलाइएको अध्यक्ष पौडेलले बताएका छन्।