काठमाडौं— नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सेनाका सबै दर्जालाई निर्देशन दिएका छन्।
महाशिवरात्रि तथा २६३ औँ सेना दिवसका अवसरमा शनिबार जंगी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले शुभकामनासहित निर्वाचन सुरक्षासम्बन्धी विशेष निर्देशन दिएका हुन्।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सम्बोधनका क्रममा प्रधानसेनापति सिग्देलले नेपालको गौरवशाली इतिहास, परम्परा र संस्कृतिबारे गहिरो जानकारी लिन तथा त्यसबाट शिक्षा लिन सैनिक कर्मचारीलाई आग्रह गरेका छन्। उनले सबै सैनिक तालिममा नेपाल र नेपाली इतिहास अध्ययन–अध्यापन अनिवार्य बनाउन निर्देशन दिएको पनि उल्लेख गरिएको छ।
यसका साथै, नेपाली सेनाले विभिन्न राष्ट्रिय जिम्मेवारी निर्वाह गर्दै आएको सन्दर्भमा आगामी निर्वाचनलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उच्च सतर्कता अपनाउन निर्देशन दिइएको निर्देशनालयले जनाएको छ।






































