काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले प्रहरीको हिरासतमा छन् । शुक्रबार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएको छ । प्रसाईंले विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप छ ।

निर्वाचन आयोगले पठाएको पत्रको आधारमा अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले रातोपाटीलाई बताए । उनले भने– ‘विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आज म्याद लिएर थप अनुसन्धान अघि बढाउँछौँ ।’

पक्राउ पर्नुअघि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको खुलेको छ । उच्च सुरक्षा अधिकृतका अनुसार माघ २२ मा प्रसाईं र ओलीको बिचमा भक्तपुरमा भेटवार्ता भएको थियो ।

ओलीसँग भेटेपछि वीरगन्जमा कार्यक्रम गर्न भनेर प्रसाईं पर्सा जाँदै थिए । वीरगन्जमा कार्यक्रम गरेर प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको सुराकको आधारमा सुरक्षा निकायले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका थिए । नेपाल प्रहरीका एक जना उच्च अधिकृत भन्छन्, ‘त्यसपछि प्रसाईंलाई पक्राउ गर्ने निर्णय भएको हो ।’

एमाले अध्यक्ष ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरका पूर्व मेयर बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन् ।

यसअघि माघ ५ मा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका थिए । सार्वजनिक शान्ति विरुद्धको कसुरमा काठमाडौँ प्रहरीले उनीसँग बयान लिएर रिहा गरेको थियो । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

२०८१ मंसिर ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एउटा टेलिकम कम्पनीमा लगानी रहेको भनेर सार्वजनिक आरोप लगाएपछि ओलीकै आदेश प्रसाईं पक्राउ गरेका थिए । त्यसबेला ओलीको लगानी रहेको भनिएको कागजात लिन आफूले १ करोड बुझाएको भन्दै उनले पत्रकार सम्मेलन गरेका थिए । यसअघि राम्रो सम्बन्ध भए पनि आफूलाई पक्राउ गरएपछि प्रसाईं ओलीसँग रुष्ट थिए । तर, अहिले किन भेटे भन्नेबारे प्रश्न उठेको छ ।

ओली विरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनी विरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दा चलाएको थियो । त्यसबेला ओलीकै आदेशमा प्रहरीले प्रसाई विरुद्ध साइबर र किर्तेसँगै आपराधिक लाभ, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरेको थियो ।