काठमाडौं— गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ ।

निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य गर्न र सो सम्बन्धमा गरिएका कार्यहरूको प्रतिवेदन नियमित रूपमा मन्त्रालयमा उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।

मन्त्रालयले सचिवको संयोजकत्वमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं विश्वसनीयरूपमा सम्पन्न गर्न केन्द्रीय कमान्ड पोस्ट समेत गठन गरेको छ ।