बिराटनगर— लागुऔषध नियन्त्रणका क्रममा झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित नौ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका–४ बाट वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले स्थानीय भवानी लिम्बुलाई ४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो। यस्तै, बुद्धशान्ति गाउँपालिका–३ बाट श्याम धिमाल र कविन्द्र बस्नेतलाई ६ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ।

त्यसैगरी, मोरङको लेटाङ नगरपालिका–३ बाट तारा कुमारी लिम्बुलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ। रतुवामाई नगरपालिका–८ का इन्द्रराज घिमिरेलाई ३०० मिलिग्राम ब्राउन सुगरसहित अस्थायी प्रहरी चौकी डाम्राभिट्टाको टोलीले पक्राउ गरेको हो।

सुनसरीमा पनि लागुऔषधसहित चार जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–१६ का राम तामाङ र सङ्गे शेर्पालाई २२० ट्याब्लेट प्रतिबन्धित औषधीसहित तथा धरान–१२ का विनय राई र धरान–१९ का रुविन राईलाई ३७० ट्याब्लेट प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिइएको छ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।