काठमाडौं— घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक अधिकृतसहित तीन जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।

अख्तियारका अनुसार वैदेशिक हुलाक भन्सार शाखाका अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र निकासी शाखाका नायब सुब्बा छविप्रसाद रिजाललाई आइतबार साँझ नियन्त्रणमा लिइएको हो।

प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूले २ लाख ६८ हजार २८८ रुपैयाँ घुस लिएको आरोप छ। नियन्त्रणमा लिने क्रममा गणेशप्रसाद र छविप्रसादको साथबाट स्रोत नखुलेको रकमसमेत बरामद गरिएको छ।

त्यसैगरी, उनीहरूको साथबाट २३ थान मोबाइल फोन पनि जफत गरिएको अख्तियारले जनाएको छ।