काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरु गरे त्यसले ‘क्षेत्रीय युद्ध’को रूप लिने चेतावनी दिएको केही घण्टापछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।
फ्लोरिडास्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले मध्यपूर्व क्षेत्रमा अमेरिकाले शक्तिशाली सैन्य साधन तैनाथ गरे पनि आफ्नो प्राथमिकता कूटनीतिक समाधान नै रहेको स्पष्ट पारे । उनले सम्झौता नभए खामेनेईको चेतावनी सही थियो कि थिएन भन्ने कुरा स्पष्ट हुने बताए ।
“हाम्रा विश्वकै सबैभन्दा शक्तिशाली जहाजहरू त्यहाँ नजिकै छन् । केही दिनभित्रै सम्झौता हुन्छ भन्ने आशा छ । यदि सम्झौता भएन भने, उनले भनेको कुरा सही थियो कि थिएन, त्यो हामीले थाहा पाउनेछौँ,” ट्रम्पले भने ।
यसअघि इरानका सर्वोच्च नेता खामेनेईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई सैन्य कारबाही नगर्न चेतावनी दिएका थिए । अमेरिकाले युद्ध सुरु गरे त्यसले सीमित रूप नलिई सम्पूर्ण क्षेत्र नै युद्धमा फस्ने उनको भनाइ थियो । युद्धपोत र लडाकु विमानको धम्कीले इरानी जनता नडराउने भन्दै उनले इरानमाथि आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएका छन् ।






































