रामेछाप— सिन्धुली प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको कमलामाई नगरपालिका–९, भिमानस्थित चेकपोष्टमा नियमित सवारी जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको सूक्ष्म चेकजाँचबाट प्रतिबन्धित इन्जेक्सनहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

शनिबार राति इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिकसहितको संयुक्त टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबासको टोलीले सवारी साधन जाँच गरिरहेको थियो । सोही क्रममा जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको एक इभी हाईस भ्यानलाई रोकेर जाँच गर्दा लागुऔषधसहित एक जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार हाईसमा सवार महोत्तरी जिल्लाको मठियानी नगरपालिका–८ निवासी अन्दाजी ४८ वर्षीय दीप नारायण साहको साथमा रहेको कालो रङको पछाडि बोकिने झोलामाथि शंका लागेपछि जाँच गरिएको थियो । झोलाभित्र कालो प्लास्टिकमा पहेँलो टेपले बेरिएका तीन वटा पोका भेटिएको र ती पोकाबाट विभिन्न प्रकारका इन्जेक्सनहरू लुकाइछिपाइ ल्याइएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

बरामद सामग्रीमा बुप्रेनोर्फिन इन्जेक्सन ३०० पिस, डायजेपाम इन्जेक्सन ३०० पिस र प्रोमेथाजिन इन्जेक्सन ३०० पिस रहेका छन् । प्रारम्भिक अनुसन्धानबाट ती इन्जेक्सनहरू अवैध रुपमा ओसारपसार भइरहेको आशंका गरिएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय भिमानमा राखिएको छ भने बरामद लागुऔषधको स्रोत, गन्तव्य तथा यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।