ललितपुर — ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमानले श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

३० वर्षीय विनोद पाख्रिनले टिकाभैरव प्रहरी चौकीमा पुगेर आफूले श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको स्वीकार गर्दै आत्मसमर्पण गरेका हुन्। प्रहरीका अनुसार उनले मदिरा सेवनपछि भएको विवादका क्रममा रिस नियन्त्रणमा लिन नसकी चिर्पट प्रहार गर्दा श्रीमतीको मृत्यु भएको बताएका छन्।

प्रहरी टोली घटनास्थल पुग्दा कोपिला पाख्रिनको शव खाटमा सुताएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा दुवैजनाले मदिरा सेवन गरेको र त्यसपछि विवाद बढ्दै जाँदा हत्या भएको देखिएको प्रहरीले जनाएको छ।

घटना शुक्रबार (आज) बिहान भएको बताइएको छ। हत्या गरेपछि विनोद आफैं प्रहरी कार्यालयमा पुगेर “मैले श्रीमतीको हत्या गरेँ” भन्दै आत्मसमर्पण गरेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।