भोजपुर— भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवा क्षेत्रबाट प्रहरीले ८२६ किलो ६६० ग्राम लागुऔषध गाँजासहित एक ट्रयाक्टर र ९ जनालाई पक्राउ गरेको छ।

माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी टोलीले मचुवाबाट धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्रयाक्टरलाई शंका लागि चेकजाँच गर्दा डिकीभित्र लुकाइराखिएको ४३ बोरा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल ८२६ किलो ६६० ग्राम रहेको छ। घटनामा संलग्न रहेको आरोपमा आमचोक गाउँपालिका–९ का रुद्रबहादुर श्रेष्ठ, निशान मगर र नीरबहादुर श्रेष्ठ, धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–२ का सुदीप पुर्कुटी, निलकुमार मगर, किशोर बिसुन्के, बिर्खबहादुर बिसुन्के र दीपकुमार बिसुन्के तथा ताप्लेजुङ जिल्लाको मिरिङ्देन गाउँपालिका–६ का लाक्पा शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू र बरामद गरिएको गाँजासहित ट्रयाक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।