एजेन्सि— बङ्गलादेशकी बहिष्कृत पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो निर्वासनबाट देशमा हुन लागेको आम निर्वाचनको कडा आलोचना गरेकी छन्। आफ्नो दल अवामी लिगलाई चुनावमा प्रतिबन्ध लगाएपछि आगामी निर्वाचन समावेशी, स्वतन्त्र र निष्पक्ष हुन नसक्ने उनको दाबी छ।

सन् २०२४ को विद्यार्थी आन्दोलन दमन गरेको आरोपमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले एसोसिएटेड प्रेसलाई इमेल पठाउँदै चेतावनी दिएकी छन्। उनले समावेशी चुनाव नहुँदा बङ्गलादेश लामो समयसम्म राजनीतिक अस्थिरतामा फस्ने उल्लेख गरेकी छन्। नोबेल विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले जानाजानी अवामी लिगलाई बाहिर राखेर लाखौँ समर्थकलाई मताधिकारबाट वञ्चित गरेको उनको आरोप छ।

हसिनाले ठूलो जनसमूहलाई राजनीतिक प्रक्रियाबाट हटाउँदा असन्तुष्टि गहिरिने र भविष्यमा थप अस्थिरता निम्तने बताइन्। उनले बहिष्करणबाट बनेको सरकारले विभाजित राष्ट्रलाई एकताबद्ध गर्न नसक्ने स्पष्ट पारेकी छन्।

फेब्रुअरी १२ मा हुने यस निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुँदैछन्। अगस्ट ५, २०२४ मा हिंसात्मक विद्रोहपछि हसिना सत्ताबाट हटेपछिको यो पहिलो निर्वाचन हो। अन्तरिम प्रशासनले निर्वाचनको निगरानी गरिरहेको छ भने मतदाताले संवैधानिक सुधारसम्बन्धी जनमतसङ्ग्रहमा पनि मत दिनेछन्।

मुहम्मद युनुसले स्वतन्त्र र निष्पक्ष चुनावको प्रतिबद्धता जनाए पनि अवामी लिगमाथिको प्रतिबन्धले निर्वाचनको समावेशीतामा प्रश्न उठेको छ। हसिनाको बहिर्गमनपछि बङ्गलादेशमा मानव अधिकार, अल्पसङ्ख्यकको सुरक्षा र प्रेस स्वतन्त्रताका विषयमा चिन्ता बढेको छ। विशेष गरी हिन्दू समुदायमाथि भएका आक्रमण र इस्लामवादी समूहहरूको बढ्दो प्रभावले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ।

यसैबीच, तारिक रहमानको नेतृत्वमा रहेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) मुख्य प्रतिस्पर्धीको रूपमा देखिएको छ। हसिनाले भने राजनीतिक प्रतिबन्धको चक्र अन्त्य गरी जनताको वास्तविक सहमतिमा आधारित वैध सरकार आवश्यक रहेको धारणा राखेकी छन्।