काठमाडौँ । आगामी फाल्गुन २१ गते हुने निर्वाचनका लागि दोलखामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका पार्वत गुरुङले आसन्न चुनाव केवल सत्ताको प्रतिस्पर्धा नभइ देश, संविधान र लोकतन्त्र जोगाउने निर्णायक अवसर भएको बताएका छन् । नेपाल न्यूज बैँकसँगको विषेश कुराकानीमा उनले जनतामा निराशा र राजनीतिक दलप्रति अविश्वास बढेको उल्लेख गर्दै उनले चुनावको उद्देश्यबारे सरकारले स्पष्ट सन्देश दिन नसकेको आरोप समेत लगाए ।

उनले वर्तमान सरकारले राजनीतिक दलहरूलाई कमजोर बनाउने, संविधान र लोकतान्त्रिक मूल्यहरूलाई क्षति पुर्याउने प्रयास गरिरहेको दाबी गरे। यस्ता परिस्थितिमा प्रतिगमनको विरोध गर्दै सबै लोकतान्त्रिक शक्तिहरू निर्वाचनमा सहभागी हुनुपर्ने उनको भनाइ छ । एमाले लोकतन्त्र र संविधान जोगाउने अग्रपंक्तिको शक्ति भएकाले जिम्मेवारीपूर्वक चुनावमा होमिएको उनले बताए ।

गुरुङले ‘पुरानो र नयाँ पार्टी’ भन्ने भाष्यलाई अस्वीकार गर्दै नयाँ भनिएका दलहरूले छोटो समयमा नै जनतामा निराशा बढाएको टिप्पणी गरे ।

‘नयाँ भनिएकाहरु जथाभावी गर्ने छुट छैन्,’ उनले भने,‘संस्कार, संस्कृति र विधिमा आधारित राजनीति बिना देश अघि बढ्न सक्दैन ।’ उनका अनुसार सस्तो लोकप्रियता र स्टन्टबाजी दीगो समाधान होइन ।

पार्टीभित्र निर्णय भइसकेपछि त्यसलाई स्वीकार गर्ने एमालेको परम्परा रहेको उल्लेख गर्दै उनले पार्टीमा गुटबन्दीको प्रचार गलत रहेको स्पष्ट पारे । व्यक्तिगत असन्तुष्टि हुन सक्ने भएपनि समग्रमा एमाले एकताबद्ध भएर उम्मेदवारलाई जिताउने इतिहास रहेको उनको दाबी छ ।

नेपाली कांग्रेसमा देखिएको विभाजनप्रति टिप्पणी गर्दै गुरुङले त्यसले पार्टी मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाएको बताए। युवाको नेतृत्व आवश्यक भएपनि विधि र प्रक्रियाबाट आउनुपर्नेमा जोड दिँदै उनले गलत बाटोबाट आएको परिवर्तनले देशलाई दिंग्भ्रमित बनाउने चेतावनी दिए ।

आफ्नो प्रमुख एजेन्डा प्रस्तुत गर्दै गुरुङले दोलखालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘म जितौं वा हारौं, असल नागरिकको हैसियतले भ्रष्टाचारविरुद्ध लडिरहन्छु,’उनले भने । पूर्वाधार विकाससँगै आर्थिक, सामाजिक र नैतिक विकासमा जोड दिने उनको भनाइ छ ।

दोलखालाई उत्पादनशील, उद्यमशील र सक्षम नागरिक भएको नमुना जिल्ला बनाउने लक्ष्य रहेको बताउँदै उनले सबै राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थासँग सहकार्य गर्ने धारणा राखे । आफू एमालेको उम्मेदवार भए पनि दोलखाको साझा उम्मेदवारको रूपमा काम गर्ने आत्मविश्वास उनले व्यक्त गरे ।

विगतका अनुभव स्मरण गर्दै गुरुङले भूकम्प, महामारी र पुनर्निर्माणका कठिन समयमा पनि दोलखाका लागि काम गरेको बताए । प्रचारभन्दा काममा विश्वास गर्ने बताउँदै उनले पत्रकारहरूलाई आफ्नो व्यक्तिगत र राजनीतिक जीवनबारे अनुसन्धान गर्न खुला चुनौती दिए । ‘दोलखाली जनताले विश्वास गरे म जित्छु, अन्तिम फैसला जनताकै हातमा छ,’ उनले बताए ।