काठमाडौं— महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दुर्घटनाग्रस्त हुँदा चालकदलसहित विमानमा सवार पाँचै जनाको मृत्यु भएको हो ।

मुम्बईबाट बारामती जाद्यै गरेको चार्टर्ड विमान बारामती विमानस्थलको रनवे थ्रेसहोल्ड नजिक क्र्यास–ल्याण्डिङ भएको बताइएको छ । दुर्घटनामा अजित पवारसँगै विमानमा एक पीएसओ, एक परिचारक तथा दुई जना चालकदल सदस्य सवार थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

अजित पवार जिल्ला परिषद् निर्वाचनका लागि आयोजना गरिएको सार्वजनिक सभामा सहभागी हुन बारामती जाँदै थिए । यसअघि मंगलबार उनी मुम्बईमा मुख्यमन्त्री देवेन्द्र फडणवीसको अध्यक्षतामा बसेको महाराष्ट्र क्याबिनेट समिति ९पूर्वाधार० को बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा मन्त्री चन्द्रशेखर बावनकुलेसहित अन्य अधिकारीहरूको पनि उपस्थिति थियो ।

अजित पवार गैर–लगातार रूपमा महाराष्ट्रका सबैभन्दा लामो समय सेवा गरेका उपमुख्यमन्त्री थिए । उनले विभिन्न सरकारहरूमा छ कार्यकाल उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ शिन्देको मन्त्रिपरिषद्मा उनले उपमुख्यमन्त्रीका रूपमा काम गरेका थिए । उनको विवाह सुनेत्रा पवारसँग भएको थियो । उनका दुई छोरा जय पवार र पार्थ पवार छन् ।

सन् १९८२ मा सहकारी चिनी कारखानाको सञ्चालक समितिमा निर्वाचित भएसँगै उनले राजनीतिक यात्रा सुरु गरेका थिए । सन् १९९१ मा उनी पुणे जिल्ला केन्द्रीय सहकारी बैंकको अध्यक्ष निर्वाचित भए । सोही वर्ष बारामती संसदीय क्षेत्रबाट पहिलो पटक लोकसभा सदस्य निर्वाचित भएका उनी पछि उक्त सिट आफ्ना काका शरद पवारका लागि खाली गरेका थिए ।

अजित पवार बारामती विधानसभा क्षेत्रबाट सात पटक महाराष्ट्र विधानसभामा निर्वाचित भएका थिए । उनले १९९१ को उपनिर्वाचन, त्यसपछि १९९५, १९९९, २००४, २००९ र २०१४ मा लगातार विजय हासिल गरेका थिए । नोभेम्बर २०१९ मा उनले एनसीपीमा विभाजन गराउँदै भारतीय जनता पार्टी नेतृत्वको सरकारमा सहभागी भई उपमुख्यमन्त्री बनेका थिए । सन् २०२४ को फेब्रुअरीमा निर्वाचन आयोगले अजित पवार नेतृत्वको समूहलाई पार्टीको नाम र चुनाव चिन्ह प्रदान गरेको थियो ।