काठमाडौं— प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। संसद् असंवैधानिक रूपमा विघटन गरिएको भन्दै उनीहरूले संसद् पुनःस्थापना गर्न माग गरेका हुन्।

‘नागरिक युवा समाज’मा आबद्ध युवाहरूले मंगलबार माइतीघरमा भेला भई विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्दामा संविधानको रक्षा हुने गरी निर्णय आउने विश्वास व्यक्त गरे।

प्रदर्शनकारी युवाहरूले अदालतमा दर्ता भएका मुद्दाको शीघ्र टुंगो लाग्नुपर्ने माग समेत राखेका छन्। देशलाई विधि र संविधानअनुसार सञ्चालन गर्न संसद् पुनर्स्थापना अपरिहार्य रहेको उनीहरूको भनाइ छ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘संविधान बचाऊ’, ‘संसद् फर्काऊ’, ‘लुटिएको संसद् फिर्ता गर’ र ‘विघटित संसद् पुनर्स्थापना गर’ जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।