काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) संसदीय प्रणालीको आलोचक दलका रूपमा परिचित छ । सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएको यो दल अहिले भने प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट सो पार्टीका तर्फबाट धनराज शाही उम्मेदवार बनेका छन् ।

शाहीले संसदीय चुनावमा सहभागितालाई वैचारिक विरोधाभास नभई संघर्षको नयाँ थलोका रूपमा व्याख्या गरे । उनका अनुसार पछिल्लो चरणको जनआन्दोलनले संसदीय प्रणालीलाई नै ‘भत्काइसकेको’ छ र अहिले संसद जनसंघर्ष र वैचारिक बहसको मञ्च बनेको छ । ‘त्यही कारण हामी चुनावी प्रक्रियामा आएका हौं,’उनले भने ।

काठमाडौं–१ बाट उम्मेदवारी दिएका शाहीले आफ्नो चुनावी एजेन्डा निकै बृहत रहेको बताए । उनका प्रमुख एजेन्डामा संविधानको पुनःलेखन, राज्यको पुनर्संरचना, राष्ट्रिय स्वाधीनताको रक्षा, एकीकृत उत्पादन प्रणाली, शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा निःशुल्क बनाउने, युवालाई रोजगारीको सुनिश्चितता तथा भूमिलाई राज्यको पूर्ण नियन्त्रणमा लैजाने नीति रहेका छन् ।

उनले भने, ‘हामी चुनाव लड्दै छौँ । हाम्रो एजेन्डा भनेको संविधानको पुनःलेखन, राज्यको पुनर्संरचना, राज्यको स्वाधीनताको रक्षा, एकीकृत उत्पादन प्रणाली, शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क गराउने, युवाहरुलाई रोजगारी, राज्यको जग्गालाई राज्यकै नियन्त्रणमा राख्ने हाम्रो एजेन्डाहरु हुन् ।’

जन्मथलो कर्णालीको कालिकोट भएपनि काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुको कारण स्पष्ट पार्दै शाहीले आफू पार्टीको आवश्यकता अनुसार खटिने ‘कम्युनिष्ट सिपाही’ भएको बताए ।

लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाएका उनी काठमाडौं महानगरपालिका तथा काठमाडौं जिल्लाको इन्चार्जका रूपमा काम गरिसकेका छन् ।

‘कर्णालीको मान्छे, काठमाडौं क्षेत्र नम्बर एक रोज्नुको कारण कम्युनिष्ट पार्टीका सिपाही भएकाले हो । पार्टीको आवश्यकता अनुसार जहाँ खटायो त्यही लड्नुपर्छ भन्ने हो,’उनले भने, ‘लामो समयदेखि कर्मथलो काठमाडौंलाई नै बनाए । काठमाडौं महानगरपालिका त्यसपछि काठमाडौँ जिल्लाको इन्चार्ज भएर काम गरेको हुनाले पार्टीले अहिले अवसर दिएको हो ।’

माओवादी आन्दोलनको इतिहास बोकेको दलबाट उम्मेदवार बन्नु चुनौती कि अवसर भन्ने प्रश्नमा शाहीले दुवै पक्ष रहेको बताए । उनका अनुसार नेपाली कम्युनिष्ट आन्दोलन अहिले विलयको चरणतिर पुगेको छ, जुन चुनौतीपूर्ण अवस्था हो । तर पार्टीको नीति तथा कार्यक्रमप्रति जनसमर्थन बढ्दै गएको देखिएकाले यसलाई अवसरका रूपमा लिएको उनको भनाइ छ ।

उनले भने, ‘एउटा ऐतिहासिक परिवर्तन बोकेको पार्टी हो । नेपालको कम्युनिष्ट आन्दोलन या माओवादी आन्दोलन विलयतिर जाँदैछ । यो चुनौतीको कुरा हो । अर्को अवसरको हामीले लिएको नीति र कार्यक्रमप्रति जनता गोलबन्द हुँदैछन्। यसलाई एउटा अवसरको रुपमा लिनुपर्छ ।’

संसदीय राजनीतिबारे मूल्याङ्कन गर्दै शाहीले कांग्रेस, एमालेदेखि हालका सत्तारूढ दलहरू पनि संघर्षकै मैदानबाट आएको स्मरण गराए । उनका अनुसार संसदलाई समाजवादतर्फ जाने संघर्षको थलोका रूपमा प्रयोग गर्न सकिन्छ र अधुरा क्रान्तिकारी एजेन्डा पूरा गर्ने माध्यम बनाउन सकिन्छ ।

चुनावी सम्भावनाबारे आत्मविश्वासी देखिएका शाहीले पार्टीको जित्ने सम्भावना राम्रो रहेको दाबी गरे । आत्मनिर्भर राष्ट्र र अर्थतन्त्र निर्माण गर्ने एजेन्डाले जनताको मन जितिरहेको उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो जित्ने चान्स राम्रो छ । किनभने हाम्रो पार्टीको नीति तथा कार्यक्रमहरु जनतालाई मन परेको छ । जस्तै आत्मनिर्भर देश, आत्मनिर्भर अर्थतन्त्र पार्टीको एजेन्डा हुन् । देशको नागरिकलाई स्वाभिमानी र आत्मनिर्भर बनाउने, नागरिक र देशलाई अगाडि बढाउनुपर्ने भएकाले जित्ने राम्रै सम्भावना छ ।’

काठमाडौं–१ मा ‘टुरिस्ट उम्मेदवार’ भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै शाहीले आफू पर्यटक नभई लामो समयदेखि काठमाडौंमै जनसेवा गर्दै आएको बताए । ‘जन्मथलो कर्णाली भएपनि कर्मथलो काठमाडौं हो । जहाँ बसेर पनि जनताको सेवा गर्न सकिन्छ,’ उनले भने ।

देशको पछिल्लो राजनीतिक अवस्थालाई शाहीले गम्भीर संकटको रूपमा चित्रण गरे । उनका अनुसार नेपाल अर्ध–उपनिवेशको अवस्थातिर धकेलिँदै छ र साम्राज्यवादी शक्तिहरूको डिजाइन खतरनाक बन्दै गएको छ ।

‘नेपालको आकाशमा कालो बादल मडारिरहेको छ । नेपालका जनताले साम्राज्यवादीको डिजÞाइन बुझ्न सकेनन् । देश भयंकर खतरामा जान्छ होला जस्तो लाग्छ । पार्टीको नीति र कार्यक्रमलाई जनताले माया गरेनन् भने देश बम र बारुदसँग खेल्न तयार हुनुपर्छ । अहिले देश अर्ध उपनिवेश देश भयो । त्यो साम्राज्यवादीको डिजÞाइन छ,’ उनले भने ।

जनताले डिजाइन नबुझे देश ठूलो संकटतर्फ जाने उनले चेतावनी दिए । आत्मनिर्भर उत्पादन प्रणाली र स्वदेशमै उत्पादन–उपभोग गर्ने नीति अहिलेको आवश्यकता भएको उनको धारणा छ ।

युवा पुस्ताको भूमिकाबारे बोल्दै शाहीले राजनीतिमा युवाको नेतृत्व अनिवार्य रहेको बताए । देशको स्वाधीनताको रक्षाका लागि युवाहरू राजनीतिक रूपमा सचेत भएर अघि बढ्नुपर्ने उनको भनाइ छ । साथै पछिल्लो समय देखिएको ‘जेन–जी आन्दोलन’ लाई पार्टीले सकारात्मक रूपमा लिएको उनले बताए ।

‘जेनजी आन्दोलनलाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिएको छ । हामीले जुन एजेन्डा उठायौं, त्यही एजेन्डा बोकेर जेनजी आन्दोलन अगाडि बढेको छ । देशको स्वाधीनताको रक्षाका लागि युवाहरू राजनीतिक रूपमा सचेत भएर अघि बढ्नुपर्छ ।’

कुराकानीमा शाहीले काठमाडौं–१ का मतदातालाई विशेष अपिल गरे । देशको ‘मुटु’ मानिने राजधानीका नागरिक सचेत र जिम्मेवार भएको उल्लेख गर्दै उनले पार्टीको नीति, विचार र कार्यक्रम हेरेर गुलाब चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।