कैलाली— राष्ट्रियसभा सदस्यका लागि जारी निर्वाचनमा सुदूरपश्चिमको निर्वाचन सम्पन्न भएको छ । दुई सदस्यका लागि भएको निर्वाचनमा ४ जना सांसद अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहका १७३ र प्रदेशसभाका ५१ जना सांसद गरेर २२४ मतदाता रहेकोमा २२० मत खसेको छ ।
कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा र राप्रपाकी सांसद खेमा विष्ट तथा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र जानकी गाउँपालिकी उपाध्यक्ष लालमतीदेबी कठरिया मतदानमा सहभागी भएनन् ।
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने गठबन्धनविरुद्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दिएको छ । कांग्रेसबाट खम्मबहादुर खाती तथा एमालेबाट लीलाकुमारी भण्डारी तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट टीकाराम जैसी र रोजी बस्नेत सुनारको उम्मेदवारी छ ।
निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरप्रमुख र उपप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता गर्न पाउँछन् । प्रदेशसभा सदस्यको मतभार ५३ तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसको मात्रै मतभार दुई हजार ६०७ छ । दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी छ । एक प्रदेशसभा निलम्बनमा रहेका कारण उसको मतभार एक हजार ८१६ छ । एमालेको एक हजार ५३३ मतभार रहेको छ ।






































