काठमाडौं— नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङले देश परिवर्तन गर्न सोच र कार्यशैली दुवै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै तामाङले देश बदल्न आफूहरू नै बदलिनुपर्ने धारणा व्यक्त गरे । उनले सोच परिवर्तनका लागि नेपाली कांग्रेसलाई विजयी बनाउनुपर्ने उल्लेख गर्दै कांग्रेसले जितेमा देशलाई हराभरा र समृद्ध बनाउन सकिने बताए ।

उनले भने, ‘देश बदल्नको लागि हामीले बद्लिनुपर्छ, सोच बद्ल्नु छ । त्यो सोच बदल्नको लागि नेपाली कांग्रेसलाई जिताउनुपर्छ । कांग्रेसलाई जिताउन सक्यौं भने देशलाई हराभरा बनाउन सकिन्छ । अहिले हामी निर्वाचनको प्रचार गर्ने शैली बदल्ने छौं । हिजोका दिनमा सयौं गाडि गुडाएर प्रचार गर्ने शैलीले जनताको कति मन जित्न सक्यो यसको पनि समिक्षा गर्न आवश्यक छ ।’

निर्वाचन प्रचारप्रसारको शैलीबारे आत्मसमीक्षा आवश्यक रहेको बताउँदै उनले विगतमा सयौं गाडी प्रयोग गरेर गरिएको प्रचारले जनताको कति मन जित्न सक्यो भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।

साथै, निर्वाचित भएर गएका प्रतिनिधिहरूले जनताको कति काम गर्न सके भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने उनले बताए ।

कार्यक्रममा तामाङले भावी प्रधानमन्त्रीका रूपमा चित्रित कांग्रेस नेता गगन थापाको पनि चर्चा गरे । उनले गगन थापा देशभर कांग्रेस जिताउने अभियानमा सक्रिय रहेको र आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ छोडेर तराईको सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएको उदाहरण प्रस्तुत गरे ।

तामाङले थापाको उम्मेदवारीले नेपाली कांग्रेसको दृष्टिकोण स्पष्ट हुने भन्दै कांग्रेसका नेता केवल काठमाडौंमा सीमित नभई तराई, पहाड र हिमाल सबैलाई समान रूपमा हेर्नुपर्ने सन्देश दिएको बताए ।