काठमाडौं— कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुस्ट नतिजा साँझ ५ बजेसम्म सार्वजनिक भइसक्ने बताएका छन्।

रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ। कोशी प्रदेशको एक पद भने निर्विरोध भइसकेको छ।

भण्डारीका अनुसार मतदान दिउँसो ३ बजेसम्म हुने र त्यसपछि २ घण्टाभित्र मतगणना सम्पन्न गरी नतिजा सार्वजनिक गरिनेछ। उनले सबै प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको जानकारी दिए।

प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचनका लागि कोशीमा विराटनगर, मधेसमा जनकपुर, बागमतीमा हेटौँडा, गण्डकीमा पोखरा, लुम्बिनीमा दाङ, कर्णालीमा सुर्खेत र सुदूरपश्चिममा धनगढीमा मतदान भइरहेको छ।