काठमाडौं— नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले शुक्रबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पदबहाली गरेका छन्।

तत्कालीन संस्थापन पक्षको विरोधका बीच विशेष महाधिवेशनमार्फत सभापतिमा निर्वाचित भएका थापाको कार्यसमितिलाई लिएर उत्पन्न विवाद निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेको थियो। निर्वाचन आयोगले थापाको पक्षमा निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि सानेपास्थित केन्द्रीय कार्यालय प्रवेशको बाटो खुलेको हो।

माघ १ गते सभापतिमा निर्वाचित भएका थापाले यसअघि केन्द्रीय कार्यालय पुरानो संस्थापनको नियन्त्रणमा रहेकाले दुईवटा केन्द्रीय कार्यसमितिको बैठक होटलमा गर्नुपरेको थियो। तर सर्वोच्च अदालतको अन्तरिम आदेश नआएपछि पुरानो संस्थापनले केन्द्रीय कार्यालय हस्तान्तरण गरेको थियो।

यसैक्रममा तत्कालीन सभापति शेरबहादुर देउवाले नियुक्त गरेका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन्। पौडेलको राजीनामापछि सभापति थापाले नयाँ मुख्य सचिव नियुक्त गर्ने तयारी गरेका छन्।

फागुन २१ गते हुने निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थापा पदबहालीपछि आफ्नो निर्वाचन क्षेत्र जाने कार्यक्रम रहेको छ। आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।