काठमाडौं— सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि बिहीबार छलफल भएको छ ।

छलफलमा सभापति माया प्रसाद शर्माले प्रतिवेदन अन्तिम चरणमा पुगेको जानकारी दिँदै समितिले पछिल्लो समय भएका विभिन्न राजनीतिक घटनाक्रममाथि गहिरो अध्ययन गरेको बताए ।

उनले जेनजी आन्दोलनको विषयलाई पनि समितिले प्राथमिकताका साथ उठाउँदै सम्बन्धित मन्त्रीहरूसँग छलफल गरी उनीहरूलाई जवाफदेही बनाउने काम गरिएको उल्लेख गरे । सभापति शर्माले समितिले अन्य विषयहरूलाई समेत सन्तुलित ढंगले सम्बोधन गर्दै छलफल अघि बढाइरहेको बताए ।

उनले भने, ‘हामीले धेरै कुराहरुको अध्यन गरेका छौं । यो प्रतिवेदन करिब करिब अन्तिम होला । पछिल्लो समय धेरै राजनीतिक घटनाहरु घटेका छन् जसमा हामीले जेनजी आन्दोलनको विषयमा पनि सरल ढंगले सरकारका मन्त्रीहरुलाई लिएर उहाँहरुलाई जवाफदेही बनाउने, छलफल गराउने काम गर्यौं । अन्य कामहरु पनि हामीले सन्तुलित ढंगले सम्बोधन गर्नेगरी छलफल गरिरहेको स्थिती छ ।’

उनले समितिको कार्यशैलीप्रति सन्तुष्टि व्यक्त गर्दै बैठकहरू नियमित रूपमा सञ्चालन भएको र कुनै सदस्यको अनुपस्थितिका कारण बैठक स्थगित गर्नुपर्ने अवस्था नआएको बताए । छलफलका क्रममा विषयगत मतभेद भए पनि मनमुटावको स्थिति नआएको उल्लेख गर्दै उनले समितिलाई एउटै परिवारका सदस्यजस्तै मिलेर सञ्चालन गरिएको बताए ।