बुटवल— पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । उमेदवारी चयनमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ । 

रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उमेदवार बनाएपछि यज्ञजित असन्तुष्ट बनेका थिए । यसअघि, उपचुनावमा पनि उनी आकांक्षी थिए । कांग्रेस र मधेसवादी दल हुँदै नौ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर उनी एमाले प्रवेश गरेका थिए ।

कुनै अवसर नपाएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । सबै पार्टीमा उपनिर्वाचनका आकांक्षीबाटै उमेदवार छानिँदा आफू भने नपरेको भन्दै पार्टीमा बस्नुको कुनै औचित्य नभएको उनको भनाइ छ । 

शाहले पार्टीमा अवसरवादी धेरै रहेकाले बस्न औचित्य नभएको बताएका छन् । ०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका यज्ञजित त्यसयता ०४३ सालदेखि उमेदवार बन्दै आएका थिए । कांग्रेसबाट उनी पटकपटक पराजित भएका थिए । एकपटक मधेसवादी दलबाट उनी निर्वाचित भएका थिए ।