विराटनगर— झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ।
माघ ४ गते प्राप्त विशेष सूचनाका आधारमा झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका–८ का महमद सहवाज र वडा नं. ७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यस्तै, मोरङको इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–९ स्थितबाट सुन्दरहरैचा–१० का योगेन्द्र श्रेष्ठलाई ३७ किलो ३६ ग्राम लागू औषध गाँजासहित पक्राउ गरेको छ।
यसैगरी, सुनसरीको प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको टोलीले भोक्राहा नर्सिङ गाउँपालिका–८ स्थितमा भारतीय नम्बर प्लेटको मोटरसाइकल शंकास्पद देखिएपछि चेकजाँच गर्दा सोही स्थानका ४२ वर्षीय नौसाद आलमको साथबाट ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































