काठमाडौं— करिब ७ सय भन्दा बढी नेता कार्यकर्ताहरु उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । उज्यालो नेपाल पार्टीले आज काठमाण्डौंको बौद्धमा आयोजना गरेको वृहत भेलामा अन्य दल तथा संगठन परित्याग गरेर उज्यालोमा प्रवेश गरेका हुन्।
सिन्धुपाल्चोक घर भई विगत लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका करिब एक हजारभन्दा बढी व्यक्तिहरूको सहभागितामा उक्त भेला सम्पन्न भएको उज्यालो पार्टीका एक नेताले जानकारी दिएका छन्।
भेलामा सहभागी वक्ताहरूले यस पटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढता व्यक्त गरे। उनीहरूले विकास, सुशासन र परिणाममुखी राजनीतिका लागि उज्यालो नेपाल अपरिहार्य विकल्प भएको धारणा राखे।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ देशको विकास गर्ने जिम्मेवारी उज्यालो नेपाल पार्टीले लिने भन्दै विकास डेलिभरी, सुशासन र परिणाम देखाउने क्षमता उज्यालो नेपाल बाहेक अरू कुनै पार्टीसँग नभएको दाबी गरे ।
घिसिङले उज्यालो नेपाल पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित हुन अब कसैले रोक्न नसक्ने ठोकुवा समेत गरे ।






































